Showing posts with label अन्र्तवार्ता. Show all posts
Showing posts with label अन्र्तवार्ता. Show all posts

Friday, December 19, 2008

अविरल विकल

नरेन्द्र रौले

(यो अन्र्तवार्ता कान्तिपुर कोशेलीमा गत हप्ता प्रकाशित भएको थियो । सम्भबत नेपालि पत्रकारले उनी सँग लिएको यो अन्तिम अन्र्तवार्ता हो । )


सहरी कोलाहलदेखि पर कुनाको आरुबारी टमस हार्डीको उपन्यास 'फार फ्रम द म्याडिङ क्राउड' झैं लाग्छ । सुन्दर गाउँदेखि अलि पर हरियो जंगल छ । बाँसका बाक्ला रूखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । जाडोयाममा सबैका लागि प्यारो लाग्ने न्यानो घामले स्पर्श गर्छ । आरुबारी चोकैमा एउटा बूढो पीपलको रूख ठिंग उभिरहेको छ । त्यसको नजिकै एउटा घरको छतमा उमेरले ८० पुगेका वृद्घ केही लेखिरहेका छन् ।आठ दशक पार गरसिक्दा पनि रोकिएको छैन रमेश विकलको साहित्य सिर्जना । नदी बगिरहेझैं निरन्तर छ -त्यसो त उनको एक उपन्यासको शीर्षकै छ, 'अविरल बग्दछ इन्द्रावती') । दिनहुँ केही न केही लेखिरहेका हुन्छन् उनी । फुटकर रचना कति लेखिए थाहा छैन । किताबका रूपमा भने झन्डै एक दर्जनजति प्रकाशित छन् । भर्खरै साझाबाट प्रकाशित उनको आत्मकथा 'मेरो अबिरल जीवन गीत' को दोस्रो खण्ड लेख्ने तयारीमा छन् हिजोआज । उनी नेपालीमा सिर्जनामात्र गर्दैनन्, अंग्रेजीका स्तरीय पुस्तकको अनुवादसमेत गर्छन् । अमेरकिी लेखक ज्याक लन्डनको 'द सि उल्फ' लाई 'समुद्री हुँडार' नाम दिएर नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेको मेरी सेली -कवि पर्सि बेसी सेलीकी पत्नी) द्वारा लिखित विज्ञान उपन्यास 'प्याङ्केस्टाइन' नेपालीमा 'भष्मासुर' शीर्षकमा चाँडै आउँदै छ ।प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म पढाइन्छन् र पढिन्छन् रमेश विकलका कथाहरू । बोर्डिङको पाठ्यक्रममा समेत राखिएका छन् पनि । उनले कसरी लेख्न सिके होलान् ? सम्झनाको एल्बममा पुराना हुँदै गएका दिनको स्मरण गर्छन्- 'उ बेला आरुबारी सानो गाउँ थियो । त्यस्तै ६/७ घर थिए होलान् चालिसे गाउँमा । पराल, छ्वाली र जस्ताले छाएका घरहरू रातो, सेतो, पहेंलो माटाले पोतिएर रंगीचंगी देखिन्थे । गाउँघरमा बूढापाकाहरूले सधैंजसो कथा सुनाउँथे । राति घरमा हजुरआमाले पनि रमाइला कथाहरू सुनाउँथिन् । म आफ्ना साथीहरू बटुल्थें र तिनै कथाहरूमा नयाँ कुरा थपेर सुनाउँथे ।' यसरी सुरु भयो उनको कथा-यात्रा । फरक शैली र प्रस्तुतिमा सुनाएका कथाहरू साथीभाइले बडो चाख मानेर सुन्दा उनलाई हौसला मिल्यो । त्यो बेला निगालाको कलमले रूखका पातबाट बनेको मसीमा चोबेर लेख्ने चलन थियो । 'अहिले त लेख्नु भनेको भात खानुजस्तै लाग्छ,' उनी भन्छन्- 'नलेखी बस्नै सक्दिनँ ।' तन्नेरी छँदा प्राय राति लेख्ने बानी थियो । हिजोआज बिहानै साढे ४ बजे उठिसक्छन् । नुवाइधुवाइ गरेपछि नियमित योग र व्यायाम गर्छन् । अनि सुरु हुन्छ उनको लेखन ।विकल सीमान्तकृत समुदायका प्रवक्ता हुन् भन्दा फरक पर्दैन । उनका कथामा गरबि र निम्न वर्गीय पात्रको बाहुल्य हुन्छ । सडक बढार्ने न्हुछेमाया, लाहुरी भैंसीका लुखुरे हुन् वा चटरी पसल्नी, काइँली अजी, द्वारे वा सबै विकलका कथामा अटाएका छन् । त्यसो हुनुमा उनको बाल्यकालको प्रभाव रहेछ । गाउँमा निम्न वर्गका किसान, ज्यामीका छोराछोरीसँग संगत हुनेगथ्र्यो । तिनैसँगको उठबस, हिँडडुल र तिनका दुःख पीडालाई उनले लेखनमा उतारे । घुमेका ठाउँ, भेटिएका पात्र, घटना र प्रसंग पनि मिसिन्छन् उनका लेखाइमा । लेख्नकै लागि भनेर उनी इन्द्रावती पुगेका छन् । त्यहाँको मण्डन गाउँमा एक महिना बसे । माझीहरूको बसोवास भएको गाउँमा तिनको चालचलन, रीतिरवाज, बसाइउठाइ नजिकबाट नियाले । तिनै कुराहरूलाई समेटेर उपन्यास लेखे, 'अबिरल बग्छ इन्द्रावती', जसको पछि नेपाल टेलिभिजनबाट टेलिशृंखलाका रूपमा समेत प्रसारण भयो । दर्शकहरूले त्यसलाई खुबै रुचाए । 'लाहुरी भैंसी' लेख्दाको पनि रमाइलो प्रसंग छ । दसैंमा टीका लगाउन ससुराली इन्द्रावती गएछन् । सासूले निकै माया गर्ने रहिछन् उनलाई । सधैं ससुरालीमै बसौंबसौं लाग्दो रहेछ । त्यहाँ आएका उनका साडुभाइले हप्काउँदै एकदिन भनेछन्, 'ससुरालीमा धेरै दिन बस्नुहुन्न । पछि तिमीलाई हेला गर्छन् ।' केटौले उमेरका विकलले उनको कुरा पत्याए । पछि दुवैजना सँगै घर र्फकंदा बाटोमा साडुले भैंसी किनेछन् । घरमा लगेर छोराछोरीभन्दा बढी यो भैंसीको स्याहार गरेछन् । सोही कहानीलाई कथा बनाए । मन्दिर जाँदा 'फूल लिनोस् बाजे' भन्ने केटीलाई लिएर 'स्वाना बाज्या' -फूल लिनोस् बाजे) कथा लेखे । नयाँ सडकको पेटीमा माग्ने केटाकेटी देखेपछि 'फुटपाथ मिनिस्टर्स' कथा लेखे ।विकलले साहित्यलाई पेसाका रूपमा कहिल्यै अपनाएनन् । भन्छन्, 'अहंकार नसम्भिmनुस्, मैले कहिल्यै पैसाको मुख हेरिन। जे लेखें समाजका लागि लेखें र त्यसैमा रमाएँ ।' साहित्यलाई पेसा बनाउन सकिँदैन भन्नेमा उनी ढुक्क छन् । उनका किताबका मुख्य प्रकाशक प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन र केही ठूला दैनिकबाहेक अरूले रचनाको पारश्रिमिक नै दिँदैनन् ।यदाकदा विदेशी साहित्य चोरेको आरोप झेलेका छन् विकलले । त्यसलाई उनी चोरेको नभई प्रभावका रूपमा लिन्छन् । भन्छन्, 'मूल भाव एउटै र विषय एउटै हुन्छ तर शैली र दृष्टिकोण फरक हुन्छ । कसैले चोरी भन्छ भने म त्यसमा प्रतिवाद गर्न चाहन्नँ ।'कमैलाई मात्र थाहा होला, रमेश विकल चित्रकार पनि हुन् भनेर । उनका कोठामा बुबा, आमा, हजुरआमा र श्रीमतीका चित्र झुन्डिएका छन् । गन्यो भने झन्डै सयवटा पुग्लान् । महाकवि देवकोटा, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, नातिकाजीदेखि आइन्सटाइनसम्मका पेन्टिङ छन् । कतिले प्रदर्शनी गरौं पनि भनेका छन् रे । बुबाले बनाएको रेखाचित्र हेर्दाहेर्दै उनको ध्यान कथाबाट चित्रकलातिर मोडिएछ । ललितकलामा गएर चन्द्रमान मास्केसँग कला सिक्न भ्याएछन् । एकपटक उनमा गायक बन्ने धुन पनि चढेछ । २००८ सालमा स्वर परीक्षा दिन जाँदा फेल भएछन् । 'कर्मचारीले हाहा, हुहु गरे, गिज्याए,' उनले सो घटना सम्भि“mदै भने । इख लिएर उनी लेखनमै फर्किए । तर उनी वाद्यवादनमा भने उत्तिकै पोख्त छन् ।चन्द्रशेखरका एक्ला छोरा हुन् रमेश विकल । अमिनी जागिरे बुबाको कहिले विराटनगर त कहिले दार्चुला सरुवा हुन्थ्यो । बुबाकै पछिपछि लाग्दा स्कुलस्तरको पढाइ अस्तव्यस्त भयो । २०११ सालमा एसएलसी -प्राइभेट) पास गरे । स्वअध्ययनबाट कलेज अफ एजुकेसनबाट शिक्षा शास्त्रमा बीएड उत्तीर्ण गरे ।दिनहरू बिस्तारै ओरालो लागिरहेछन्, डाँडामा घाम अस्ताएझैं । विकललाई बाल्यकालको बिछट्टै याद आइरहेको छ । अर्को जुनि पाए उनी के बन्न चाहँदा हुन् ? 'अर्को जुनिमा म कहाँ रमेश विकल हुन्छु र ? मान्छे भएर नै जन्मिइने हो कि होइन ?' तर यस समयका उनी एक उत्कृष्ट कथाकार हुन् भन्नेमा चाहिँ विवाद छैन ।


(गत हप्ता बुधबार विकलको निधन भइसकेको छ ।)